सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले सर्लाहीका विपन्न परिवारका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका र हरिवन नगरपालिकाका मुसहर, चमार र दनुवार बस्तीमा न्यानो कपडा वितरण गरिएको अनेरास्ववियु उपत्यका विशेष प्रदेश कमिटीका संयोजक प्रदीप थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनेरास्ववियुका महासचिव आरती लामा नेतृत्वको टोलीले चन्द्रपुर मुसहर बस्तीका २०० र हरिवन–३ का चमार र दनुवार बस्तीमा तीन सय जनालाई न्यानो कपडा वितरण गरेको हो ।
शीतलहर र चिसोबाट विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका जोगाउन न्यानो कपडा वितरण गरिएको थापाले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा २ नम्बर प्रदेशसभाकी सदस्य बेची लुंगेली र पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा समेत सहभागि हुनुभएकाे थियाे ।