तनहुँ - दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ।
कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा घेराबार गरी महिला बन्दीगृह निर्माण गरिएको हो। निर्माण सम्पन्न भएकाले अब छिट्टै नै महिला कैदीबन्दी भवन सञ्चालनमा ल्याउने तयारी गरिएको कारागार प्रशासनले जनाएको छ। यसका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँले अनुमति समेत दिइसकेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अघि अनुगमन गरेर महिला कैदीबन्दी राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरिएको थियो। तनहुँबाट बाह्य जिल्लामा पठाइएका महिला कैदीबन्दीलाई समेत जिल्लामा ल्याउने तयारी भइरहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। छिमेकी जिल्ला लमजुङले पनि कारागार भवन भत्काउन लागेकाले महिला कैदीबन्दीलाई तनहुँमा पठाउनेबारे जानकारी गराइसकिएको उनले बताए।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख गरी कूल रु ४० लाखको लागतमा बीस जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको हो। कारागारमा नयाँ दुई भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो।
पुरानो कारागार भवनमा नयाँ जस्तापाता
त्यसैगरी पुरानो कारागार भवनमा नयाँ जस्तापाताले छाएको छ। जस्तापाता पुरानो हुँदै गएकाले पानी चुहिने समस्याबाट हैरानी खेप्नु परेकाले नयाँ जस्तापाताले छाना छाएको हो।
कारागार व्यवस्थापन विभागबाट रु १० लाख बजेट विनियोजन भएपछि छाना छाइएको निमित्त प्रमुख अधिकारीले बताए। दुईवटा ब्लकमा जिप्सन र ६ कोठामा प्लाइउड राखिएको उनले जानकारी दिए।