सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक चापागाईं पक्राउ

रूपन्देही । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सवा एक अर्ब रकम हिनामिना गरेको उजुरीपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इप्रका बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको बताए । अध्यक्ष गुरुङलाई विहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई सम्पर्कविहीन छन् । सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो ।

त्यस्तै, राई संचालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न तीनवटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु राईको नाममा तिनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण लगेका थिए ।

पाँचवटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनुपर्ने छ । सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ लिएर राई सम्पर्कविहीन छन् ।

बचतकर्ताहरुको यति ठूलो रकम हिनामिना गरी संरक्षक राई फरार भएपछि बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×