रोनाल्डोको दुई गोलमा पोर्चुगलको जित

काठमाडौँ - पोर्चुगलले आइतबार राति यूईएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डमाथि ४–० को सानदार विजय हासिल गरेको छ। आइतबार राति लिस्बनस्थित जोजे अल्भालाडे रंगशालामा घरेलु मैदानमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ४–० ले हराएको हो। खेलमा रोनाल्डोले दुई गोल गर्नुका साथै अर्को एक गोलमा अवसर सिर्जना गरिदिएका थिए।

पोर्चुगलले विलियम कार्भाल्होको गोलबाट १५औँ मिनेटमा अग्रता लिएको थियो। ३५औँ मिनेटमा रोनाल्डोले अग्रता दोब्बर बनाए। त्यसको चार मिनेट नबित्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। रोनाल्डाले दुवै गोल डिएगो जोटाको पासमा गरेका हुन्।

उनकी आमाले रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी लगाएर रंगशालामा खेल प्रत्यक्ष हेरेकी थिइन्। उनी रोनाल्डोले गोल गरेपछि खुशीका आँशु निकालिरहेकी थिइन्। रोनाल्डोले यो खेलमा ह्याट्रिक गर्न सक्थे। तर उनले थुप्रै अवसर खेर फालेका थिए। गए राति पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोलको अवसर खेर फाल्दा ह्याट्रिक गर्ने मौका गुमाए। पोर्चुगलका लागि चौथो गोल जोओ कान्सेलोले ६८औँ मिनेटमा गरेका थिए।

योसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या ११७ पुर्‍याएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो कीर्तिमान सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। रोनाल्डोपछि दोस्रो स्थानमा रहेन सफल इरानका अली दाईले १०९ गोल गरेका छन्। तेस्रो स्थानमा रहन सफल मलेसियाका मोख्तर दहारीले ८९ गोल गरेका छन्। चौथो स्थानमा लियोनल मेसी छन्।

जितसँगै पोर्चुगलले यूईएफए नेसन्स लिग ‘ए’को समूह–२ मा चार अंक जोडेको छ। पोर्चुगल शीर्ष स्थानमा रहेको छ। समान चार अंक जोडेको चेक गणतन्त्र दोस्रो स्थानमा छ। दुई अंक जोडेको स्पेन तेस्रो स्थनमा छ। अंकविहीन स्वीट्जरल्यान्ड चौथो स्थानमा रहेको छ।

पोर्चुगलले पहिलो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको थियो। स्पेनले गए राति चेक गणतन्त्रसँग २–२ को बराबरी खेल्यो। स्वीट्जरल्यान्ड पहिलो खेलमा चेक गणतन्त्रसँग २–१ ले पराजित भएको थियो। 

पोर्चुगलले अब शुक्रबार चेक गणतन्त्रविरुद्ध खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×