काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटिको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताएका छन्।
केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो बन्न सफल नवप्रवेशी टिम सातदोबाटो युथ क्लब हेरेका थिए। त्यसअघि थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमका प्रशिक्षक रहेका केसी नेपाली फुटबलका चर्चित प्रशिक्षक हुन्।
उनले नेपालको यु(१९ फुटबल टिमसमेत हेरेका छन्। यस्तै राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रुपमा पनि काम गरेका छन्।
नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ। सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन्।