काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो।
अख्तियारका अनुसार मुनकर्मीले आफ्नो आयस्रोतभन्दा धेरै अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानका आधारमा मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
उक्त मुद्दामा मुनकर्मीले सार्वजनिक पदमा रहँदा कानुन विपरीत सम्पत्ति आर्जन गरी राज्यलाई क्षति पुर्याएको आरोप लगाइएको छ। अब विशेष अदालतले प्रमाण र बयानका आधारमा यस प्रकरणको थप सुनुवाइ गर्नेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरुदेखि नै विभिन्न विवाद र अनियमितताको आशंकामा रहँदै आएको छ। यस प्रकरणलाई सार्वजनिक पूर्वाधार आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।