काठमाडौँ - पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ। बागमतीले महिला ब्यक्तिगत साबर बिधामा स्वर्ण जितेको हो। शिक्षा नापितले बागमतीलाई पहिलो स्वर्ण दिलाएकी हुन्। उनले विभागीय टोली एपीएफकी उर्मिला लामालाई पराजित गरिन्। तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबकी रविना थापा र मनिषा श्रेष्ठ रहे।
पोखरा कभर्डहलमा भएको प्रतियोगिताको महिला ब्यक्तिगत ईपीमा आर्मीले बर्चस्व बनायो। आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्दा सीता पाठकले रजत र आर्मीकै पुजन कुमाल र एपीएफकी जानुका स्याङतानले कांस्य जितेका छन्।
पुरुषको व्यक्तिगत फोयलमा सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण जितेका छन्। उनले बागमतीका सञ्जीप लामालाई पराजित गरेका थिए। आर्मीका वीरसिंह शाही र एपीएफका शेरसिंह ऐरीले कांस्य पदकमा चित्त बुझाए।
विजेता खेलाडीलाई बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्यसचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए।
असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा ४ प्रदेश र २ विभागीय टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको छ।
नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण भने नेपाल पुलिस क्लबले जितेको थियो। पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जितेको हो।