पाकिस्तान दुई सय टि-२० आई खेल खेल्ने पहिलो टोली

काठमाडौँ - पाकिस्तान २ सय टि-२० आई खेल खेल्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ। आइतबार राती ७ टि-२० आई खेलको सिरिज अन्तर्गत चौथो टि-२० आई खेल इंग्ल्यान्डविरुद्ध खेल्दै पाकिस्तान दुई सय टि-२० आई खेल खेल्ने पहिलो टोली बनेको हो।

२००६ देखि टि-२० आई खेल खेलेको पाकिस्तानले २ सय खेलमा १ सय २२ मा जित, ७० मा हार, ५ खेल नजिता विहीन र ३ खेल टाई भएका थिए । पाकिस्तानले २००६ मा पहिलो टि-२० आई खेल इंग्ल्यान्डविरुद्ध नै डेब्यू गरेको थियो। इन्जमाम उल हकको कप्तानीमा टि-२० आईमा डेब्यू गरेको पाकिस्तानले बाबर आजमको कप्तानीमा २ सय खेल पूरा गरेको हो।

यो अवधिमा पाकिस्तानले सन् २००९ को टि-२० विश्वकप उपाधि जितेको थियो। पाकिस्तानपछि सर्वाधिक धेरै खेल भारतले १ सय ८२ टि-२० आई खेल खेलेको छ। अफगानिस्तानले १ सय ४, अष्ट्रेलियाले १ सय ६५, बंगलादेशले १ सय ३४, इंग्ल्यान्ड १ सय ५८, आयरल्यान्ड १ सय ३४, न्युजिल्यान्ड १ सय ७०, दक्षिण अफ्रिका १ सय ५७, श्रीलंका १ सय ६५, वेस्टइन्डिज १ सय ८१ र जिम्बावेले १ सय १२ खेल खेलेका छन्।

यता नेपालले भने २०१४ को टि-२० विश्वकपबाट डेब्यू गरेको थियो। नेपालले हालसम्म ५७ टि-२० आई खेल खेल्दा ३३ मा जित र २३ मा हार व्यहोरेको छ। आफ्नो २ सय औं खेल पाकिस्तानले रोमान्चक ३ रनको जितका साथ मनाएको छ।

७ टि-२० आई खेलको सिरिजमा २-२ को बराबरी अवस्थामा पुगेको छ। जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.२ ओभरमा १ सय ६३ रनमा अल आउट भयो। इंग्ल्यान्डका लियाम डावसन र ह्यारी ब्रुकले सर्वाधिक ३४-३४ रन बनाए।

इंग्ल्यान्डलाई १८ बलमा ३३ रन चाहिँएको थियो। डावसनले १८ औं ओभरमा मोहम्मद हसनैनले १ छक्का र ४ चौकासहित कुल २४ रन जोडेपछि बाँकी १२ बलमा ९ रन चाहिँएको थियो।

तर हरिस रौफ पाकिस्तानको नायक बने। पहिलो बलमा डावसनलाई डट र दोस्रो बलमा चौका खर्चिए। १० बलमा जितको लागि ५ रन चाहिँएको थियो। हातमा ३ विकेट थियो। रौफले तेस्रो बलमा डावसनलाई मिडविकेटमा वैकल्पिक फिल्डर मोहम्मद हरिसबाट क्याच गराए। उनले १७ बलमा ५ चौका र १ छक्का हाने।

लगत्तै अर्को बलमा ओली स्टोनलाई बोल्ड गरे। पाँचौं बलमा १ र अन्तिम बलमा डट राखे। पाँचौं बलमा उनले प्रतिघण्टा १ सय ५५ किलोमिटरको गतिमा बलिङ गरेका थिए। अन्तिम ६ बलमा ४ रन चाहिँएको थियो। रिस टोप्लीलाई मोहम्मद वासिम जुनियरले डट र दोस्रो बलमा रन आउट गराउँदै रोमान्चक जित दिलाए।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। मोहम्मद नवाजले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। मोहम्मद हसनैनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए।

त्यसअघि कराँचीमा रहेको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रनको योगफल बनाएको थियो। पाकिस्तानका मोहम्मद रिजवानले ६७ बलामा ९ चौका र १ छक्का सहित सर्वाधिक ८८ रन बनाएका थिए।

पहिलो विकेटका लागि रिजवान र बाबर आजमले ११.५ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमै रोकिएको हो।

बाबर २८ बलमा ३ चौका सहित ३६ रनमा आउट भएका थिए। इंग्ल्यान्डका रिस टोप्लील ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएका थिए। अबका खेल लाहोरमा हुनेछन्। पाँचौं खेल बुधबार, छैटौं शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×