मोरङ - मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ। बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक/पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लागेका थिए। राससले पनि उक्त विद्यालयको विषयमा पटक-पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए।
नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५९ विद्यार्थी र पाँच शिक्षक कार्यरत रहेको प्राधानाध्यापक सञ्जीवकुमार राजवंशीले जानकारी दिए। राजनीतिक नेताको नाममा स्थापना भएको यो विद्यालयमा नेपाली कांग्रेसकी महिला नेत्री नोना कोइराला हुञ्जेलसम्म विद्यालयको अवस्था राम्रै थियो। केही दरबन्दी र राहत कोटाबाट सञ्चालनमा आएको सो विद्यालयको भौतिक सुधारमा सुनवर्षी नगरपालिकाले रु चार लाख र जिल्ला समन्वय समितिले रु सात लाख ५० हजार सहयोग गरेका कारण सुधार आएको शिक्षक उमानन्द ठाकुरले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी दाहालले रङ्गेली विराटनगर हुलाकी राजमार्गसँग जोडिएको यो विद्यालयमा एक दिन अनुगमन गर्ने क्रममा प्रवेश गरेको र विद्यालयको अवस्था हेर्दा मन खिन्न भएकाले सोही दिनदेखि भौतिक सुधारमा ध्यान दिएर लागेको बताए।