जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान दिने सरकारको निर्णय, पेट्रोलमा इथानोल मिश्रणदेखि श्रम सम्झौतासम्म स्वीकृत

काठमाडौं । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न अनुदान दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी सहिद परिवारको सामाजिक तथा कल्याणकारी कार्यक्रम प्रभावकारी बनाउन उक्त अनुदान उपलब्ध गराइने जानकारी दिए।

बैठकले घनश्याम पराजुलीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ। यस्तै राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गरिएको छ।

मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यसका साथै नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र तथा नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गरिएको छ। पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश र वन ऐन तेस्रो संशोधन नियमावली २०८२ पनि बैठकले स्वीकृत गरेको मन्त्री खरेलले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×