काठमाडौं - आज (बिहीबार) पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ । बैठक बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म बस्ने भएको हो ।
जसअनुसार बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । उक्त बैठकमा एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल हुने बताइएको छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । सो बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीबारे छलफल हुनेछ ।
त्यसैगरी साढे ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।
बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्नलगायतका अत्यावश्यक उपभोग्य वस्तुबारे छलफल हुनेछ ।
यसैगरी दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापनलगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयनको अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुनेछ ।