काठमाडौं - भारतीय बक्स अफिसमा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’को दबदबा बढेको बढ्यै छ। फिल्मले चार दिनको अवधिमा सबै भाषामा गरी झण्डै ४०० करोड भारु कमाइ गरेको छ भने हिन्दी भर्सनमा मात्रै १९५ करोड कमाइ गरेको छ।
रिलिजको पहिलो साता कुनै पनि हिन्दी डब फिल्मले कमाइ गरेको यो अहिलेसम्मकै बढी हो। यसअघि बलिउड अभिनेता सलमान खानको ‘सुल्तान’ले यस्तो रेकर्ड राखेको थियो।
गत बिहीबार रिलिज भएको ‘केजीएफ-२’ले शुक्रबार, शनिबार र आइतबार पनि हिन्दी भाषी राज्यमा उछाल व्यापार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो फिल्मका कारण शुक्रबार रिलिज हुन लागेको बलिउड फिल्म ‘जर्सी’ समेत प्रभावित हुन सक्ने आँकलन गरिएको छ। ‘जर्सी’मा शाहिद कपुरको केन्द्रीय भूमिका रहेको छ।
‘केजीएफ-२’ले हिन्दी भर्सनमा बिहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९ करोड र आइतबार ५१ करोड भारु कमाइ गरेको छ। यसरी यो फिल्मले हिन्दी भर्सनमा मात्रै चार दिनमा १९४.६४ करोड कमाएको छ।
सन् २०१४ मा रिलिज भएको सलमान खानको ‘सुल्तान’ले चार दिनको अवधिमा १८०.३६ करोड कमाइ गरेको थियो। ‘केजीएफ-२’ले सबै भाषामा गरी चार दिनमा ३८२.५० करोड भारु कमाइ गरेको छ।