काठमाडौँ - ‘कबड्डी ४ : द फाइनल म्याच' आज देखि प्रदर्शनमा आएको छ। कबड्डीबाट सुरु भएको कथालाई बिट मार्ने सोचले यसलाई द फाइनल म्याच भनिएको छ। तर,‘कबड्डी’ श्रृंखलाको नयाँ फिल्म ‘मास्टर बमकाजी’ निर्माण घोषणा भएको छ। ‘कबड्डी ४’को क्रेडिट लाइनमार्फत फिल्मको नयाँ श्रृंखलाबारे खुलासा भएको हो।
निर्देशक रामबाबु गुरुङले ‘मास्टर बमकाजी’लाई फिल्मको पहिलो ‘स्पिन-अफ’ भएको बताएका छन्। दृश्यभाषामा स्पिन-अफ भनेको कथाको परिवेशलाई कायमै राखेर खास पात्रमा आधारित फिल्म बनाउनु हो ।
स्पिन-अफलाई फिल्म समीक्षक सिक्वेलभित्रको सिक्वेल बताउँछन्। ‘स्पिन-अफ’को यो मोडेललाई हलिउड स्टुडियो मार्भल र डिज्नेले पछ्याइरहेका छन्। अहिले निर्माण भइरहेका मार्भल सिनेम्याटिक युनिभर्स त्यही स्पिन-अफको उदाहरण हो।
‘कबड्डी’ श्रृंखलाको मुख्य पात्र बमकाजीमा केन्द्रित रहेर ‘मिस्टर बमकाजी’ बन्न लागेको हो। तर यसलाई ‘कबड्डी ५’ पनि भन्न सकिन्छ। ‘कबड्डी’मा बमकाजीको भूमिका सौगात मल्लले निर्वाह गरिरहेका छन्।
‘बमकाजीमा काजी (दयाहाङ) हुनेछैनन्। केही समयसम्म काजी र बमकाजीबीच भेट हुनेछैन। तर कुनै बिन्दुमा पुगेर यी दुईबीच पुनः भेट हुनेछ,’ कबड्डीको नयाँ स्पिन-अफबारे निर्देशक गुरुङले बताए।
एउटा स्पष्ट तथ्य के हो भने ‘मास्टर बमकाजी’मा दयाहाङ हुनेछैनन् भने सौगात लिड रोलमा हुनेछन्, तर फिल्मको सेटिङ (परिवेश) ‘कबड्डी’ नै हुनेछ। व्यावसायिक दृष्टिकोण राखेर कबड्डी निर्माता स्पिन-अफ मोडेलतर्फ अघि बढेको अनुमान गरिएको छ।