काठमाडौँ - तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्याण्डले टेस्ट शृङ्खलामाथि २-१ ले कब्जा जमाएको छ। १३० रनको लक्ष्य पाएको इंग्ल्याण्डले मात्र १ विकेटको क्षतिमा सो लक्ष्य सफलतापूर्वक पछ्याएको हो।
इंग्ल्याण्डलाई जीत दिलाउन ज्याक क्रलीले ६९ तथा एलेक्स लिसले ३९ रन बनाएका थिए। ओली पोप ११ रनमा नटआउट रहे। दक्षिण अफ्रिकाका लागि १ मात्र विकेट कागिसो रबाडाले लिए।
यसअघि, पहिलो पारीमा दक्षिण अफ्रिका ११८ रनमा सीमित भएको थियो भने दोस्रो पारीमा १६९ रन बनाएको थियो। इंग्ल्याण्डले पहिलो पारीमा १५८ रन बनाएको थियो।
शृङ्खलाको पहिलो टेस्टमा दक्षिण अफ्रिका १ इनिङ्स र १२ रनले विजयी भएको थियो। दोस्रो टेस्ट भने इंग्ल्याण्डले १ इनिङ्स र ८५ रनले जितेको थियो।