काठमाडौँ - ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ। निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताएका छन्।
‘अहिलेसम्म ५० प्रतिशत सम्भावना कात्तिक ४ गते भन्ने हो। हामीले त्यसपछिको मितिमा पनि सम्भावना हेरिरहेका छौं,’ गिरीले भने, ‘चाँडै यसबारे निधो दिनेछौं।’
‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ। जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरेका छन्।
मंसिरमा चुनाव, त्यसपछि विश्वकप फुटबल र जाडोयामका कारण पनि तिहारको बिदातर्फ दीपकको नजर सोझिएको छ। तिहारमा ८ दिन लगातार सार्वजनिक बिदा भएकाले पनि बक्स अफिसको लागि उपयुक्त हुन सक्छ।
हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, बेनिशा हमाल र मलिना जोशीको प्रमुख भूमिका रहने छ।