काठमाडौँ - आसन्न स्थायी तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको निर्वाचन सँधै सबैको चासोको विषय बनिरहेको छ। यसपटक पनि धेरैको चासोको विषय बनेको काठमाडौँ महानगरको मेयरको उमेदवारमा विभिन्न पार्टीका एवं स्वतन्त्र उमेदवारहरु रहेका छन्। ती मध्य पनि चर्चाको शिखरमा रहेका छन्, स्वतन्त्ररुपमा आफ्नो उमेदवारी दिएका र्याप गायक बालेन भनेर चिनिएका बालेन्द्र शाह। यति मात्र नभइ एमालेका केशव स्थापित, कांग्रेसकी सृजना सिंह, विवेकशिल साझा पार्टीकी समीक्षा बास्कोटा र राप्रपाका मदनदास श्रेष्ठ पनि चर्चामै रहेका छन्। जीत कसको हातमा पर्छ त्यो त पछिको विषय हो तर अहिले प्रचारप्रसार र अन्तर्क्रिया कार्यक्रमहरुमा यी उमेदवारहरुको विचारहरु सुन्दा निकै रोचक सुनिन्छ।
यसै क्रममा एक कार्यक्रममा अत्यधिक युवाहरुको साथ र समर्थन पाएका स्वतन्त्र उमेदवार बालेनले एमालेबाट मेयरका उमेदवार बनेका केशव स्थापित उनको ब्राण्ड एम्ब्यासडर रहेको टिप्पणी गरेका छन्। केशव स्थापित र केहि अन्य उमेदवारहरुले बालेनलाई लक्षित गरेर विचारहरु प्रस्तुत गर्दै गर्दा बालेनले भने सकारात्मक रुपमा उनीहरुलाई प्रतिकार गर्नेक्रममा यस्तो प्रतिक्रिया दिएका हुन्।
"अहिलेको हाम्रो क्याम्पिङमा हामीले गरेको एप्रोच र कुराहरु बुझ्दा पनि यसपाली बुवाआमाले आफ्ना छोराछोरीलाई भोट यसमा हाल्ने भन्दापनि छोराछोरीले चै बुवाआमालाई यसमा भोट हाल्ने भन्ने भाछ अनि त्यो उमेर समुहमा चाहिँ हाम्रो ब्रान्डिङ केशव स्थापितले गर्दी रहनु भाको छ।" बालेनले भने, "अस्ति नरदेवीमा हामीले घरदैलो गर्दाखेरी 'ए! केशव स्थापितले सधैं गाली गर्ने मान्छे यहि पो हो' भनेर उहाँहरुले खोज्नु भएको थियो। यसले गर्दा हाम्रो ब्राण्ड एम्ब्यासडर चाहिँ केशव स्थापित हुनुहुन्छ बुढापाकालाई पेनेट्रेट गर्नको लागि।"
स्थायी तहको निर्वाचन आगामी बैशाख ३० गते हुन गइ रहेको छ। काठमाडौँ महानगरपालिकामा पार्टीगत र स्वतन्त्र गरी कुल ५६ जनाले मेयरकालागि उमेदवारी दिएका छन्।