काठमाडौँ - वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। बुधबार प्रारम्भिक ब्याट्सम्यान शिखर धवनको कप्तानीमा १६ सदस्यीय भारतीय क्रिकेट टोलीको घोषणा गरिएको हो। टोलीको उपकप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई दिइएको छ।
वेस्ट इन्डिज भ्रमणमा भारतले घरेलु टोलीसँग ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ। ३ खेलको एकदिवसीय खेल २२ जुलाईदेखि हुनेछ। त्यसलगत्तै भारतीय टोलीले ५ खेलको टीट्वेन्टी शृंखला पनि खेल्नेछ। टोलीमा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, दीपक होडा, श्रेयस ऐयर, सूर्यकुमार यादव, इशन किशन, सन्जु सामसन, रवीन्द्र जडेजा, युजभेन्द्र चहल, शार्दुल ठाकुर, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्णा, मोहमद सिराज र अर्शदीप सिंह छन्। वेस्ट इन्डिज भ्रमणमा युवा खेलाडीहरूलाई मौका दिइएको छ।
वेस्ट इन्डिज भ्रमणमा रोहित शर्मा, विराट कोहली, केएल राहुल, ऋषभ पन्त, जसप्रित बुमराहलगायत सिनियर खेलाडीलाई आराम दिइएको छ। भारतीय टोली अहिले बेलायत भ्रमणमा रहेको छ। ५ टेस्टको शृंखला खेलिसकेको भारत टी-२० र एकदिवसीय शृंखलापछि वेस्ट इन्डिज भ्रमणमा निस्कने छ।
भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्धको ५ खेलको टेस्ट शृंखला २-२ को बराबरी गरेको छ। मंगलबार सकिएको पाँचौं तथा अन्तिम टेस्टमा ऐतिहासिक जित निकालेको थियो। बर्मिङ्घममा भारतलाई सात विकेटले पराजित गर्दै इङ्ल्यान्डले ऐतिहासिक जित हात पारेको थियो। ७७ ओभरमा ३ सय ७८ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले पाँचौं दिन ७६.४ ओभरमा ३ विकेट गुमाउँदै जित निकालेको हो। इङ्ल्यान्डले टेस्ट क्रिकेटमा सफलता पाएको सर्वाधिक ठूलो योगफल हो।
यसअघि सन् २०१९ मा अस्ट्रेलियाविरुद्ध ३ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो। वेस्ट इन्डिज भ्रमणका लागि अहिले एकदिवसीय टोली घोषणा गरिएको र टी-२० पछि घोषणा गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ। टी-२० टोलीमा एकदिवसीयमा आराम दिएका सिनियर खेलाडी फर्किन सक्ने जनाइएको छ।