काठमाडौँ - वर्तमान विश्व क्रिकेटमा कोही उत्कृष्ट छ भने, त्यो नाम हो विराट कोहली। खेलाडीका रुपमा उनले टी–ट्वान्टी विश्वकपबाहेक महेन्द्रसिंह धोनीको कप्तानीमा सबै उपाधि जितिसकेका छन्।तर उनले आफ्नो कप्तानीमा भने अहिलेसम्म केही पनि जित्न सकेका छैनन। विश्व क्रिकेटमा सचिन तेन्दुलकरजत्तिकै महान मानिएका कोहलीले उत्कृष्ट खेलाडीका रुपमा आइसीसीका सबैजसो अवार्ड जितेका छन्।
वर्तमान विश्व क्रिकेटमा उनी सबै क्रिकेटरका लागि आइडल हुन्। उनी एक्लैले ७० शतक बनाइसक्दा उनीसँगै खेलेका धेरै ब्याटर अहिले पनि मुश्किलले ४० शतक बनाइरहेका छन्। यस्ता दर्जनौ रेकर्ड कोहलीले आफ्नो नाममा लेखाएका छन्। विश्व क्रिकेटकै महान खेलाडी सचिनका सबैजसो रेकर्ड एकपछि अर्को गरि तोड्दै गएका कोहली सबैभन्दा ठूलो रेकर्ड शतकको पनि शतक अर्थात १०० शतकको कीर्तिमान तोड्नुपर्ने चुनौतिमा छन्। यो रेकर्ड तोड्न उनले अझै ३० वटा शतक बनाउनुपर्नेछ।
यस्तो चुनौतिपूर्ण समयमा एक नयाँ सफलताको नजिक पुग्नुपर्ने कोहली पछिल्लो तीन वर्षदेखि भने शतकविहीन छन्।
यस वर्षको आइपीएललाई हेर्ने हो भने कोहलीको ब्याटबाट रन निस्कदैन। केवल आउट, रन आउट, गोल्डेन डकआउट र क्याचआउट मात्रै छ। जसमा उनी दुई पटक डकआउट हुँदा बाँकी खेलमा ९, १२ र १ मात्रै बनाउन सकेका छन्। जबकी आइपीएलमा सर्वाधिक रनको कीर्तिमान नै उनको नाममा छ। उनले अहिलेसम्म पाँच हजारभन्दा बढी रन बनाएका छन्। सर्वाधिक ५ शतक बनाएका छन्।
सन् २०२०–२१ मा केएल राहुल पनि खराब फर्ममा थिए। जसले त्यतिबेला ०, १, ०, ० र १४ रनको आँकडा मात्रै देखाउन सकेका थिए।
यस्तै वेष्ट इण्डिजका धुरन्धार नयाँ पुस्ताका ब्याटर निकोलश पूरनको ०, ०, ०, ०, ०, ९, ०, १९, ० र ३२ रनको आकँडा पनि त्यति राम्रो थिएन। टी–ट्वान्टी मात्र नभई अष्ट्रेलीयाली लेजेन्डरी क्रिकेटर ग्रेग च्यापपेल पनि एक समय ०, ०, ०, ०, ६, १२ र ० रनको नाजुक अवस्थाबाट गुज्रेका थिए। यस्तै, थुप्रै खेलाडीले आफ्नो प्रदर्शनमा टोलीको लागि अर्को रन कसरी ल्याउने भन्ने दबाब महशुश गरेको उदाहरण छन्।
मंगलबार भएको खेलमा राजस्थान रोयल्सविरुद्धको खेलमा कोहली ओपनिङमा गए। फाफ डुप्लेसिसँग उनले ओपनिङ गर्दा सुरुमा दुई चौका हाने। यसले गर्दा रंगशाला भरि कोहली नाम गुन्जिएको थियो। तर, त्यो खुशी चार मिनेट पनि टिक्न सकेन।
दोस्रो ओभरमा कोहली १ रन जोडेलगत्तै आउट भए। जम्मा १० रन जोडेर आउट भएका कोहलीको फर्म कति खराब अवस्थाबाट गुज्रिएको छ भनेर सजिलै देख्न सकिन्छ। एक महान क्रिकेटरका लागि यति खराब अवस्थाबाट निरन्तर गुज्रनुपर्ने अवस्था सायदै आउँछ।
तर निरन्तर खराब प्रदर्शनले अब टिमका लागि कोहलीको ब्याटिङ क्षमता नै धरापमा परेको छ। कोहली संसारका ठूलै सेलिब्रेटी हुन्। क्रिकेटमा उनी जत्तिको अर्को ठूलो सेलिब्रेटी छैन।
त्यही भएर कोहलीलाई रोयल च्यालेन्जर्स बेंगलोरमा विश्वको नै सबैभन्दा व्यस्त पुरुषको उपमा दिइएको थियो। कोहलीसँग कुरा गर्नु भनेको विश्वको ठूलो नेतासँग कुरा गर्नु बराबर हो भनेर उनकै साथीहरु ठट्टा गर्छन।
सन् २०१८ मा कप्तान हुँदा कोहलीले विश्लेषकहरुलाई एक शब्द नबोलेको गुनासो थियो। किनभने हरेक मिनेट कोहली आफ्नो उद्धेश्यमा केन्द्रित हुन्थे। सोहि समयको प्रदर्शन हेर्ने हो भने कोहलीले औसतमा ४८ रन गरी १३९ को स्ट्राइकरेटमा कुल ५३० रनको योगदान गर्न सफल भएका थिए।
त्यो कोहलीको वर्चश्वले भरिपूर्ण सिजन थियो। यसपश्चात कोहलीको वाह–वाला प्रदर्शन देख्न पाइएको छैन। सन् २०१९ देखि जारी आईपीएलसम्म हेर्दा कोहलीको औसत रन ३१ भएको देखिन्छ। तर स्ट्राइक रेट भने १ सय २६ रहेको छ। ४ सिजन पहिलेको प्रदर्शनलाई हेर्ने हो भने कोहलीले १ सय ३९ को स्ट्राइक रेटले औसतमा ५२ रन जोड्थे।
कोहली दिनप्रतिदिन कमजोर बन्दै गएका छन्। उनमा अझै दर्जनौ शतक हान्न सक्ने भोक छ। त्यसका लागि लडिरहेका छन्। तर हरेक खेलमा सजिलै आउट हुँदा उनी थाकेका जस्ता देखिन्छन्।
सन् २०१९ मा बंगलादेशविरुद्धको टेस्ट खेलमा कोहलीले बनाएको शतकपश्चात, कोहली १ सय १२ इनिङ्समा शतकविहीन छन्। सो टेस्ट खेलअघि ७ सय ९ इनिङसमा कोहलीले ८६ शतक बनाएका थिए।
तर, अहिले कोहलीको प्रदर्शन निकै खराब छ। कोहलीलाई सबै फम्र्याटमा संघर्ष गरिरहेको देख्न सकिन्छ। यस सिजनमा कोहलीले एउटै समस्या पटक पटक दोहो¥याएका छैनन्। तर अधिकांश ब्याटरले चुनौतीपूर्ण समयमा गर्ने गल्ती कोहलीले पनि गर्न थालेका छन्।
लखनउ सुपर जायन्ट्सविरुद्धको खेललाई नै हेर्ने हो भने पनि अनुज रावतले पहिलो ओभरमा दुष्मन्थ चमेरालाई आउट गरेसँगै कोहली मैदानमा आएका थिए। पहिलो बललाई कोहलीले ब्याक अफ द लेन्थ प्रहार गरे। त्यसपश्चात कोहलीको क्षणभरको लागि आक्रामक रुप देख्न सकियो र बल ब्याकवार्ड प्वाइन्टमा गयो। ९ औँ बलको सामना गर्दा मार्को ज्यानसेनले प्रहार गरेको हाफ–भलीलाई कोहलीले फितलो प्रहार गरे। कोहली पीचमा एकछिन टोलाए पनि।
यस्तै, कोलकत्ता नाईट राईडर्सविरुद्धको खेलमा पनि उमेश यादवको बलिङमा स्लिप भएर बल स्टम्प बाहिर पुगेको थियो। चेन्नाई सुपर किङ्ग्सविरुद्धको खेलमा पनि दुरीको आकलनमा समस्या आउँदा कोहलीले तेस्रो बललाई स्क्वायर लेगमा प्रहार गरे।
दिल्ली क्यापिट्ल्सविरुद्धको खेलमा १४ बलमा १२ रन जोडेपश्चात आउट भए। कुल ९ खेलमा हेर्ने हो भने कोहलीले मुम्बई इण्डियन्सको खेलमा मात्र सन्तोषजनक अंक बनाए। कोहलीले त्यस खेलमा ४८ रन बनाएसँगै यस आईपीएलमा कुल १ सय २८ रन बनाए।
तर,पुरण वा राहुल नभएकोले कोहलीलाई सहजै ड्रप गर्न सकिँदैन। खेल विश्लेषक रवि शास्त्री र केभिन पिटरसनको भनाईमा कोहलीलाई एउटा ब्रेक आवश्यक छ। विगत ५ वर्षमा, कोहली एक व्यवसायमा परिणत भएको देख्न सकिन्छ। कोहली फर्ममा नभएको क्रिकेट पण्डितहरुको तर्क छ।
टी–ट्वान्टी खेलमा खेलाडीमा जति चाँडै लय आउँछ त्यति नै चाँडै लय गुमाएको पनि देख्न सकिन्छ। तर, संघर्षरत अवस्थामा लय कहिले फर्किन्छ त्यसको भन्ने आकलन गर्न चुनौतीपूर्ण हुन्छ। कोहलीको अवस्था पनि त्यस्तै भएको देखिन्छ।
यदि कोहलीले रन–आउट र गोल्डन डक आउटबाट छुट्कारा नपाउने भने कसरी लय फर्किन्छन् भन्ने अधिकांश क्रिकेट विशलेषकहरुको तर्क छ। तर, भारतीय विश्लेषकसँगै धेरै क्रिकेट पण्डित र प्रशंसकको पर्खाई अहिले पनि कोहली शतक बनाउन सक्षम छन्।
बस, केही समय लाग्छ। क्रिकेट किङ भनेर चिनिएका कोहली चाँडै फर्ममा फर्कदै नजिकै आउँदै गरेको टी–ट्वान्टी विश्वकपमा धमाका मच्चाउने अनुमान छ।