काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताएका छन् ।
बुधबार नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानकोले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताए ।
उनले भने, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतिक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नु भएन । एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरु दिइनै राख्नुहुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरि मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठुलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’
कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल भएको दाहालको भनाइ थियो । प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए ।
‘यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दै गरेको दुई जना गिरप्तार भएपछि नै यो तीव्र भएको होकी भनेर जनताले बुझेका छन् । राजनीतिक रुपले हाम्रो लागि राम्रो आधार बनेको छ जनतामा । त्यसलाई हामीले संगठनमा बदल्नु छ ।’ उनले भने ।
‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन’ उनले भने ।