काठमाडौँ। सुदर्शन थापाको निर्देशन तथा लगानी रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ तोकिएको समयमा प्रदर्शनमा नआउने भएको छ। माघ १९ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको प्रदर्शन मिति स्थगित भएको हो। निर्देशन थापाले एक विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन्। देशभर कोरोना संक्रमण बढ्दै गएको र सरकारले सिनेमाघरहरु बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा निर्माण पक्षले अनिश्चितकालका लागि प्रदर्शन मिती सारेको हो।
विज्ञप्तिमा भनिएको छ ‘कोरोना भाइरसबाट बच्नका लागि नेपाल सरकारले आवश्यक कामबाहेक भिडभाडमा नजान र धेरै मानिसको भेला हुने कार्यक्रम नगर्नका लागि सूचना जारी गरेको छ। जसकारण माघ १९ मा प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्म प्रदर्शन नगर्ने निर्णय गर्दछौँ।’
सांगीतिक प्रेम कथामा आधारित चलचित्रको प्रदर्शन मिती दोस्रो पटक सरेको हो। वि.स २०७६ फागुन ३० मा पनि कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन मिति सरिएको थियो।
चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी आदि कलाकारहरुको अभिनय रहेको छ भने अभिनेत्री शर्माको पनि लगानी रहेको छ।