दक्षिण अफ्रिकासँग भारत ७ विकेटले पराजित

काठमाडौँ - डेविड मिलर र रसी भान डेर डुसानले अविजित १३१ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेटको विजय हासिल गरेको छ। 

नयाँ दिल्लीस्थित अरुण जेट्ली रंशगालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २११ रन बनाएको थियो। २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भ्रमणकारी दक्षिण अफ्रिकाले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ। 

दक्षिण अफ्रिकाले कप्तान टेम्बा बभुमालाई १० रनमै  गुमाएको थियो। त्यसपछि ओपनर क्विन्टन डी कक र ड्वाइने प्रिटोरियसले ३९ रनको साझेदारी गरेका थिए। प्रिटोरियसले २९ रन बनाए। डी कक २२ रन बनाए।८.४ ओभरमा डी कक आउट हुँदा दक्षिण अफ्रिका ८१/३ को अवस्थामा थियो। 

त्यसपछि मिलर र भान डेर डुसानले चौथो विकेटका लागि अविजित १३१ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले सात विकेटको जित हासिल गरेको हो। ट्वान्टी-२० क्रिकेटमा दक्षिण अफ्रिकाले लक्ष्य पछ्याएर जितेको यो सबैभन्दा ठुलो योगफल हो। यसअघि दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध २०८ रनको लक्ष्य पूरा गरेको थियो। 

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल र अक्सर पटेलले १/१ विकेट लिएका थिए। 

त्यसअघि भारतका लागि ओपनर इशान किशनले सबैभन्दा धेरै ७६ रन बनाए। उनले ४८ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए। श्रेयस ऐयरले ३६, कप्तान रिशभ पन्तले २९ र रितुराज गाइकवाडले २३ रन बनाएका थिए। 

दक्षिण अफ्रिकाका केशव महाराज, एनरिच नोट्जे, वाइन पर्नेल र प्रटोरियसले १/१ विकेट लिए।

यो जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ। भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेल आइतबार हुनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×