काठमाडौँ - यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश नं -१ लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो।
प्रतियोगितामा लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ। जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नं-१ १६.३ ओभरमा ५१ रनमा समेटियो। प्रदेश नं-१ का भूपाल दङ्गालले ३२ बलमा १० रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरका हेमन्त धामीले ५ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिएका थिए। मिलन बोहराले २ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनाएको थियो।
सुदूरको लागि कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रनको योगदान दिएका थिए। मिलन बोहराले ६४ रन जोडेका थिए। दीपक बोहराले ३२, आकाश चन्दले २० तथा विशाल ऐरले १३ रन जोडेका थिए। प्रदेश नं १ का अभिनय राजवंशीले ४ विकेट लिए भने आषिश मगर र दीपेश कँडेलले समान २ विकेट लिएका थिए।