काठमाडौँ - दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिगमा सोमबार राति डिवाई पाटिल रंगशालामा सम्पन्न खेलमा पञ्जाब किंग्सविरुद्ध १७ रनको जित निकालेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा पञ्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन मात्र बनाएपछि दिल्लीले जित निश्चित गरेको हो।
दिल्लीको जितमा प्लेयर अफ दि म्याच बनेका शर्दुर ठाकुरले चार विकेट गिराए। त्यस्तै, अक्षर पटेल र कुलदिप यादवले समान २,२ विकेट लिएका थिए। दिल्लीको पेचिलो बलिङसामू पञ्जाबका जितेश शर्माले ४४ रन बनाएका थिए भने ओपनर जोन्नी बेयरिस्टोले २८ रनको योगदान दिएका थिए।
यता पहिलो पारीमा दिल्लीका मिचेल स्टार्कले ६३ रन बनाए भने सार्फराज खानले ३२ र ललित यादवले २४ रनको योगदान दिए। त्यसक्रममा बलिङतर्फ लियम लिविनस्टोमले तीन विकेट गिराए भने अर्षदिप सिंहले पनि तीन विकेटको योगदान दिए।
यो जितसँगै दिल्ली चौथो स्थानमा उक्लिएको छ भने पञ्जाब सातौं स्थानमा छ।