रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। रोहिणी गाउँपालिका–३, परासीझुवामा रोकिराखेको भारतीय नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल एचआर ५५ डब्लु ०३१ नम्बरको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा ओमसतिया गाउँपालिका–३ का २१ वर्षीय राजु हरिजन र सोही स्थानका २३ वर्षीय रोहित यादव गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज् लगिए पनि उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाग्रस्त ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यसैबीच, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, दरखस्वामा एक महिलाको शव पानीमा अर्धडुबेको अवस्थामा फेला परेको छ। आज बिहान करिब सवा ८ बजे स्थानीयवासीले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाको प्रकृति तथा मृत्युको कारण पत्ता लगाउन विशेषज्ञ टोली खटाइएको प्रहरीले जनाएको छ।