काठमाडौँ - जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विषेश छानबिन समितिलाई नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको विवरण बुझाएको छ।
प्रयोगशालाले बुझाएको विवरणबारे समितिको भोलीको बैठकमा छलफल हुने बताएको छ। आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माकाथि छानबिन गर्न गठित समितिले अनधिकृत व्यक्ति प्रवेश भए, नभएको विषयमा निष्कर्षमा पुग्न मन्त्रालयको सीसीटीभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो।
सीसीटीभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो। यस विषयमा समितिले निवर्तमान अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भनेका थिए।
मन्त्रालयको सीसीटीभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको हो।
समितिलाई अनुसन्धान प्रक्रियाका लागि समय अपुग भएको भन्दै छानबिन समितिले माग गरेपछि छानबिनका लागि ७ दिनको समय थप गरिएको थियो। शर्मामाथि आर्थिक वर्ष २०७९-८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि संसदीय विशेष समिति गठन भएको थियो।