काठमाडौँ - अभिनेता सौगात मल्लले तीन महिनाका लागि अभिनयबाट विश्राम लिने भएका छन्। उनले भदौ १० गते प्रदर्शन हुने फिल्म राधालाई लक्षित गर्दै आफूले अन्य काम नगर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
‘राधा’ सौगातले निर्माण गरेको पहिलो फिल्म हो। ‘राधाभन्दा अघि मैले केही गर्दिनँ। त्यसकै दौडधूपमा हुन्छु। अन्य सेड्युललाई पनि पछिलाई सारेको छु। आफैं प्रोड्युसर भएपछि सबै कामको लागि आफू हिंड्नुपर्ने हुन्छ,’ सौगातले भने।
अहिले पोस्टप्रोडक्सन भइरहेको फिल्म राधामा स्वयं सौगात खटिरहेका छन्। उनी अभिनित ‘कबड्डी ४’ले बक्स अफिसमा उच्च कमाइ गरिरहेको छ भने अर्को फिल्म ‘घनचक्कर’ प्रदर्शनको तयारीमा रहेको छ।
अन्य दुई फिल्म गर्ने निश्चित भएपछि ‘राधा’ रिलिजको एक महिनासम्म आफूले केही गर्न नसक्ने सौगातले बताएका हुन्। उनले निर्देशक समेत रहेका सुवर्ण थापासँग मिलेर ‘राधा’ निर्माण गरेका हुन्।