काठमाडौँ - नेपालका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, बक्सिङ्ग फेडरेसन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्री आलेग भासिलिविचले दुई देशबीच सहयोग सम्झैतामा हस्ताक्षर गरेका छन्।
मन्त्री गहतराजले शुक्रबार नेपाल फर्किएपछि रुस भ्रमणमा भएका सम्झैताबारे जानकारी गराका हुन्। सम्झाैतापत्रमा नेपाली खेलाडीहरूलाई रुसमा तालिम दिने, नेपाली बक्सिङ खेलाडीहरूलाई रुसमा हुने प्रतियोगितामा सहभागी गराउने, दुवै देशका खेलाडीहरूलाई हिमाली क्षेत्रमा हुने म्याराथन प्रतियोगितामा सहभागी गराउने, खेल विश्व विद्यालयहरूको सहयोग सम्बन्ध विस्तार गर्ने र यस कार्यक्रममा नेपाली खेलाडी विद्यार्थीहरूलाई रुसमा खेलकुद विज्ञान अध्ययनको अवसर उपलब्ध गराउने जस्ता विषय समेटिएका छन्।
नेपालमा हाई अल्टिट्युड तालिम सेन्टर स्थापना गर्न थप छलफल अगाडि बढाउने विषयमा पनि छलफल भएको मन्त्री गहतराजले बताएका छन्। उनले रसियन युनियन अफ मार्शल आर्ट्सका पदाधिकारीहरूसँग भेटघाट गरी दुवै देशका मार्शल आर्ट्स खेलमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको पनि बताए।