काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ । आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए ।
इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको एआइजी थापाले बताए । ‘इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएको देखिन्छ । बडिगार्डको खुट्टामा चोट लागेको छ,’ उनले भने, ‘दुर्घटनावश पड्किएको भएपनि उनको केही लापरबाही देखिन्छ ।’
घाइते बडिगार्डको उपचारका लागि एपिएफ अस्पताल लगिएको थियो । उनी खतरामुक्त छन् । यस विषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन भनेर एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन समेत दिएका छन् । इन्स्पेक्टर श्रेष्ठमाथि अनुसन्धानको प्रकृया अगाडि बढाइएको छ ।