काठमाडौँ - अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित स्टार लियोनल मेस्सीले कतार विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेस्सीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रिँदै छ।
४ पटक विश्वकप खेलिसकेका मेस्सीले अब कतार विश्वकप आफ्ना लागि अन्तिम हुने बताएका छन्। लामो समयदेखिको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा अर्जेन्टिनाले कोपा अमेरिकको उपाधि जितेको थियो।
अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुगेको थियो। फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै उपाधि विहीन रहेको थियो। सन् २०१८ मा भने अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
कतार विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ। अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा रहँदै कतार विश्वकप पक्का गरेको थियो। इएसपिएनसँग मेसीले भने ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो, यो विश्वकपको प्रतिक्षा व्यग्रताका साथ गरिरहेको छु।’ ७ पटकका बालोन डी अर विजेता मेस्सीले अर्जेन्टिना सधै विश्वकपमा उपाधि दाबेदार टोली भएको भन्दै आफूहरूसँग उपाधि प्रतिक्षा गर्नु स्वभाविक भएको बताएका छन्।
उनले भने ‘हाम्रो इतिहासले पनि हामीलाई उपाधि दाबेदारको रूपमा उभ्याएको छ। हामी क्षमतावान टोली हाैँ र यस पटक पनि टोलीको दाबेदार छबीमा कुनै कमी आउने दिने छैनौँ।’
उनले अहिले टिम उच्च लयमा रहेको भन्दै विश्वकपमा सहभागि हुन आउने टिम कुनैपनि कमजोर नहुने बताएका छन्। मेस्सीले भने ‘विश्वकप हो, कुनै पनि प्रतिद्वन्द्वी सहज हुँदैन। समूह चरणको पहिलो खेल नै कठिन हुन्छ।’ मेस्सीले दाबेदार मानिएको टोलीले सधै उपाधि जित्छ भन्ने नहुने भन्दै जित्नका लागि पुरा प्रयास गर्ने बताएका छन्।
समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरूद्ध खेलसँगै कतार विश्वकपको यात्राको थालनी गर्ने छ। उनले आफ्नो अन्तिम विश्वकप यादगार बनाउन चाहेको बताएका छन्।
ले भने ‘म अहिले शारीरिक रुपमा फिट छु, क्लबमा पनि स्वभाविक लयमा छु, गत वर्ष मैले चोटका कारण राष्ट्रिय टोलीबाट केही खेल गुमाए। तर यस वर्ष म पूर्ण रूपमा फिट छु। त्यसैले टोलीलाई सफलता दिलाउँदै कतार विश्वकप यात्रालाई यादगार बनाउन चाहन्छु।’
सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकप उनको पहिलो विश्वकप सहभागिता थियो। त्यसपछि उनले सन् २०१०, २०१४ र २०१८ को विश्वकपमा मुख्य खेलाडीका रुपमा अर्जेन्टिनाको यात्रा अगाडि बढाएका थिए।
कतार विश्वकपमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरूद्ध पहिलो खेल खेल्दा अन्य टिमहरूमा मेक्सिको र पोल्यान्ड रहेका छन्।