काठमाडौँ - रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन अनुरोध गरेको छ। मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न समेत आग्रह गरेको छ।
मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ। परराष्ट्रको विज्ञप्तिमा त्यहाँको वर्तमान अवस्थाको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध हवाई उडानको उपयोग गरी स्वदेश फर्कनअनुरोध गरिएको छ।
अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।