रुपन्देही - रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ। कूल १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ टावरमध्ये ५५ वटाको निर्माण सम्पन्न भएको छ। यस्तै १० किलोमिटर तार टाङ्गिएको छ। बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ।
मैनहिया सबस्टेसनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ। बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ। प्रसारण लाइन र सवस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।