एजेन्सी- श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन्। देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन्।
कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ।
व्यवहारमा सुधार भएकामध्ये पनि ६५ बर्ष उमेर पुरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो। तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ।
श्रीलङ्का सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो। त्यतिबेलादेखि श्रीलङ्कामा हरेक बर्षको फेबु्रअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ।