काठमाडौँ - जोश हाज्लेउडको चार विकेट लिनुका साथै ओपनर एरोन फिन्च र डेबिड वार्नरले १३४ रनको अविजित साझेदारी गरेपछि अष्ट्रेलियाले मंगलबार राति पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई १० विकेटले हराएको छ।
जितसँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अष्ट्रेलियाले १–० को अग्रता लिएको छ।
उसका लागि डेविड वार्नरले अविजित ७० रनको पारी खेले। उनले ४४ बलमा नौ चौका प्रहार गरेका थिए। यस्तै, कप्तान आरोन फिन्चले ४० बलमा समान चार चौका र छक्कासहित अविजित ६१ रन बनाए।
यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएको थियो। उसका लागि चरिथ अस्लंकाले सर्वाधिक ३८, पथुम निसन्काले ३६, दनुश्का गुनाथिलकाले २६ र वानिन्दु हसरंगाले १७ रन जोडेका थिए।
यी दुई टोलीबीचको दोस्रो खेल आज हुँदैछ।