नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका लागि प्यानलसहित त्रिपक्षीय प्रतिस्पर्धासहित भएको निर्वाचनमा ३३३ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल २३८ पाएर उपविजेता बनेका छन् भने अर्का प्रतिद्वन्द्वी भरत दुलालले ३८ मत पाए ।
निर्वाचन समिति संयोजक शङ्करलाल श्रेष्ठका अनुसार सहमतिको लामो प्रयास विफल भएपछि भएको निर्वाचनमा अध्यक्ष श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा सोयमबहादुर खड्का र उपसचिवमा कमला बस्नेत पनि विजयी भएका छन् ।
उपाध्यक्ष मानन्धरले ३३६ मत पाएका छन् भने प्रतिस्पर्धी हीराकुमार थोकरले २६३ पाइन् । सचिवमा खडकाले ३०४ मत पाए भने प्रतिस्पर्धी कृष्ण बस्नेतले २८४ पाए । सहसचिव महिलामा कमला बस्नेतले २७७ पाइन् भने प्रतिस्पर्धी मेनुका सुवेदीले १९५ मत पाएकी छन् ।