पन्तको शतक र पान्ड्याको उत्कृष्ट प्रदर्शनमा भारतलाई सिरिज

काठमाडौँ - विकेटकिपर ऋषभ पन्तको शतक र अलराउन्डर हार्दिक पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डसँगको ३ ओडिआई खेलको सिरिज जितेको छ। भारतले तेस्रो खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै सिरिज २-१ ले जितेको हो।

जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। भारतका विकेटकिपर ऋषभ पन्त १ सय १३ बलमा १६ चौका र २ छक्कासहित १ सय २५ रनमा अविजित रहेका थिए। पन्तको यो पहिलो ओडिआई शतक हो। पन्तले ४२ औं ओभरमा डेविड विल्लीलाई लगातार चौका प्रहार गरेका थिए।

हार्दिक पान्ड्या ५५ बलमा १० चौकासहित ७१ रनमा आउट भए। पाँचौं विकेटका लागि पन्त र हार्दिकले १ सय ३३ रनको शतकीय साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए। ओपनर रोहित शर्मा १७, शिखर धवन १, शिखर धवन १६ र विराट कोहली १७ रनमा आउट भए। इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक तीन विकेट लिए।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गर्दै ४५.५ ओभरमा २ सय ५९ रनमा अल आउट भयो। इंग्ल्यान्डका कप्तान जस बटलरले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। जेसन रोय ३१ बलमा ७ चौकासहित ४१, बेन स्टोक्स २७, मोईन अली ३४, क्रेग ओभरटन ३२, डेविड विल्ली १८ र लियाम लिभिङस्टोनले २७ रन बनाए।

भारतका हार्दिक पान्ड्याले ७ ओभरमा ३ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिएका थिए। युजभेन्द्र चहलले ३ र मोहम्मद शिराजले २ विकेट लिएका थिए। पहिलो खेलमा भारत १० विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय रनले पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×