काठमाडौँ - ऐतिहासिक महत्वको सिगाना कोत घरको पुनःनिर्माण गर्न थालिएको छ।
तत्कालीन बाइसे चौबिसे राज्यका पालामा भुरे टाकुरे राजाले राज्य गरेको सिगाना कोतघरलाई पुनःनिर्माण गर्न थालिएको हो। बागलुङ नगरपालिका–८ स्थित कोतघरलाई पुरानो शैलीमा पुनःनिर्माण गर्नका लागि गत वर्ष नै गुरुयोजना बनाइएको थियो। नेपाल एकीकरण पूर्वराजा रजौटाहरुले स–साना राज्य सञ्चालनको क्रममा सिगानामा समेत राज्य सञ्चालन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्वको कोत घर संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढेको बागलुङ –८ सिगानाका वडाध्यक्ष जीतबहादुर जिसीले जानकारी दिए।
कोत घर पुनःनिर्माणका क्रममा गत वर्ष केही पर्खालसमेत लगाइएको थियो। पर्खालको जग खन्ने क्रममा पुरातात्विक वस्तु ओखल, इँटा तथा माटाका भाडासमेत फेला परेका छन्। यस क्षेत्रमा पहिला राजाको दरबारलगायतका संरचना भएको जमिनमुनि भेट्टिएका पुरातात्विक वस्तुले समेत प्रमाणित गरेका छन्। बाइसे चौबिसे राज्यका पालामा यहाँ भुरे टाकुरे राजाले सिगाना, रेश, तित्याङ तथा रायडाँडामा आफ्नो राज्य सञ्चालन गर्ने गरेका थिए। अहिले दसैँको अघिल्लो दिन मेला लाग्ने परम्परा भए पनि ऐतिहासिक कोत संरक्षणको अभावमा मासिएको थियो।
स्थानीयकै सक्रियतामा पुरानो कोत नजिकै छेउमा सानो मन्दिर बनाएर पूजाआजा गर्दै आए पनि पुरानो संरचना संरक्षणको अभावमा एक सय वर्षअघि नै विलय भएको छ तर परम्परागत शैलीमा कोतको पुनःनिर्माण गर्नका लागि प्रारम्भ गरिएको जिसीले बताए। “हाम्रो गुरुयोजना रु. एक करोड २२ लाखको हो, अहिले बागलुङ नगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको छ जस्लाई कार्यान्वयन गर्न स्थानीयले ११ लाख खर्चनुपर्ने हुन्छ”, उनले भने, “अहिले स्थानीयको सहयोग र नगरपालिकाको रकमले पुनःनिर्माणको कार्य अघि बढ्छ अहिले मुख्य कोत मन्दिरमा मात्रै निर्माण हुनेछ, बागलुङ नगरपालिकाले थप रु. २० लाख अर्को शीर्षकबाट ठेक्का गर्न थालेको छ।”
जिसीका अनुसार अहिले मुख्य कोतमात्रै पुनःनिर्माण गरिने भए पनि बजेट थप हुँदै गएपछि पुन गुरुयोजनाअनुसार अन्य संरचना निर्माण गरिनेछ। गुरुयोजना अनुसार संरचना निर्माण गर्दै जादा पुनःनिर्माणमा सहजता हुने उनको भनाइ छ। रु. एक करोड २२ लाखको गुरुयोजनामा मुख्य मन्दिर, सत्तल, पर्खाल, पदमार्ग, शौचालय र बगैँचा निर्माण गरिने योजना रहेको छ। अहिले पहिलो चरणको स्थानीय साझेदारी योजनाअन्तर्गत सहयोग रकम उठाउन थालिएको छ। कोत पुनःनिर्माणमा स्थानीयको समेत साझेदारी हुने स्थानीय भद्रबहादुर कार्कीले जानकारी दिए।