मतदाता शिक्षा निर्देशिकामा फेरबदल

काठमाडौँ - निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ। स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो। 

आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो। आयोगले तयार गरेको निर्देशिकाबमोजिम निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि छ वटा समिति हुनेछन्। स्थानीय निर्वाचनमा भने तीन तहको समिति मात्रै रहेको थियो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “शिक्षालाई व्यावहारिक र परिणाममुखी बनाउन यस प्रकारको व्यवस्था गरिएको छ।”

मतपत्रको ढाँचाले बदर मत घटबढ हुनाले आयोगले आगामी निर्वाचनमा चार प्रकारको मतपत्र डिजाइन गरेको छ। एक जना मतदाताले चार जना प्रतिनिधि चयन गर्दा चारवटा पानामा स्वस्तिक चिह्न लगाउनेछन्। स्थानीय निर्वाचनमा भने एउटै पानामा सात पदका लागि छ प्रकारको मतपत्र थियो। एउटै पानामा ७० भन्दा बढी निर्वाचन चिह्न थियो। 

सहायक प्रवक्ता अर्यालले आगामी निर्वाचनमा मतपत्रको डिजाइनले बदर मत घटाउने विश्वास व्यक्त गरे। प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फ एउटा पानामा बढीमा ३१ र घटीमा मात्र दुईवटा निर्वाचन चिह्न रहनेछन्। समानुपातिकतर्फ भने बढीमा ५५ र घटीमा २७ वटा निर्वाचन चिह्नसहितको मतपत्र रहनेछ।  सबै मतपत्रमा ठाडोतर्फ बढीमा १० र तेस्रोमा पाँचवटा लहर राखिएको छ। 
गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×