काठमाडौं– ब्लकबस्टर नेपाली फिल्म अवार्ड– २०७८ मा वर्षको उत्कृष्ट व्यवसायिक फिल्म ‘म यस्तो गीत गाउँछु-२’ बाट अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा, निर्देशक सुदर्शन थापा, वितरक करण श्रेष्ठले अवार्ड प्राप्त गर्न सफल भएका छन्। उक्त अवार्ड फिल्मका निर्देशक थापा तथा अभिनेत्री शर्माले ग्रहण गरेका थिए।
कोभिड १९ कोरोनाको महामारीका क्रममा निर्माण भएर प्रदर्शन गरिएका डेढ दर्जन फिल्महरुलाई पुरस्कृत गरिएको थियो। समारोहमा सामाजिक विषयवस्तु उठानमा बनेको फिल्म ‘चुरिफुरी’ लाई उत्कृष्ट जनजागरण फिल्मको अवार्ड प्रदान गरिएको थियो भने ‘कठपुतली’ फिल्मलाई प्रोत्साहन सम्मान प्रदान गरिएको थियो।
नव प्रतिभा विधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरे भने महमारीमा नेपाली फिल्म चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो विधामा बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो।
समारोहमा रजत जयन्ती सम्मानबाट गीतकार डा.कृष्णहरि बराल, निर्देशक दयाराम दाहाल तथा गायिका देविका बन्दना सम्मानित भएका छन्। चलचित्र विकास बोर्ड सभाहलमा आयोजित अवार्ड वितरण समारोहमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, खेलाडी अनिल गुरुङ तथा खेलाडी र निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल विधाबाट सम्मान गरिएको छ।
समारोहमा अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट पत्रकार रामहरि सिलवाल, निरन्तरता युवा पत्रकारिता पुरस्कारमा जन सवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा क्रियाशील पत्रकारितामा श्याम स्मृत सम्मानित भएका छन्। समारोहमा उपस्थित चलचित्रकर्मीहरुलाई मायाको चिनो तथा विश्व कलाकार महासंघको तर्फबाट आजीवन सदस्यको सम्मानपत्र वितरण गरिएको थियो।
समारोहमा ९ जना जुरि चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
श्रोत: कलाकर्मी