काठमाडौँ - ‘कबड्डी’ सिक्वेलमा ४ हिट फिल्म दिएका निर्देशक रामबाबु गुरुङ नयाँ फिल्म ‘सुन्दर बजार’ निर्माण गर्दैछन्। माघबाट छायांकन गर्ने सोचका साथ उनले फिल्मको तयारी थालेका हुन्।
नयाँ तथा पुराना कलाकारको अभिनय रहने फिल्मका लागि को-को कलाकार फाइनल भए अहिले सार्वजनिक गरिएको छैन। फिल्मका लागि केही समय अगाडि कलाकारको अडिसन समेत आह्वान गरिएको थियो। कलाकार छानिए वा बाँकी छ। त्यसको जानकारी गराइएको छैन।
श्रोतका अनुसार रामबाबुले बनाउन लागेको नयाँ फिल्म माघको हुस्सुमा खिचिनेछ। तराईको विभिन्न जिल्लामा फिल्मको छायांकन हुन बताइन्छ। गुरुङ निर्देशित पछिल्लो फिल्म ‘फूलबारी’ फागुनको ५ गतेबाट रिलिज हुँदैछ। यो बर्ष रामबाबुले ‘कबड्डी ४’ नामक ब्लकबस्टर फिल्म दिइसकेका छन्। उनको नयाँ फिल्म ‘फूलबारी’ पनि हिट हुने अपेक्षा गरिएको छ।
फिल्म ‘सुन्दर बजार’ को कलाकार तथा प्राविधिक पक्षको सम्पूर्ण जानकारी केही समयपछि दिने तयारी रामबाबुको रहेको छ ।