काठमाडौँ - ओस्कार अवार्डमा मनोनित नेपालको पहिलो फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्याली नयाँ फिल्मको पूर्वतयारीका लागि काठमाडौं आइपुगेका छन्।
आगामी प्रोजेक्ट छायांकनको पूर्वतयारी बुझ्न उनी यसैसाता पेरिसबाट काठमाडौं उत्रिएका हुन्। उनै अझै केही समय यहीं रहेर फिल्मको लोकेसन र स्क्रिप्टलाई पूर्णता दिने जनाइएको छ। वर्किङ टाइटल ‘क्याराभान २’ राखिए पनि आधिकारिक टाइटल चाहिं नयाँ नै हुने जनाइएको छ।
नयाँ फिल्मको लागि एरिकले हुम्लाका दुई नन-एक्टर पुरुष कलाकारलाई फाइनल गरिसकेका छन्। दुई अभिनेत्री मेनुका प्रधान र ‘नाका’ फेम्ड थिन्ले ल्हामोमध्ये एक जनालाई लिने बुझिएको छ। सम्भावित कास्टिङको लागि एरिकले ती दुई अभिनेत्रीलाई भेटिसकेका छन्।
दुई वर्षअघि नै एरिकले प्रोजेक्टलाई अघि बढाउने सोच बनाएका थिए। नेपालमा पहिलो लकडाउन सुरु हुनुअघि उनी पेरिसतर्फ उडे। महामारी साम्य भएपछि भने उनी पहिलोपटक नेपाल आएका हुन्।
एरिक निकट स्रोतका अनुसार नयाँ फिल्ममा हुम्लादेखि काठमाडौंसम्मको यात्राको कथा हुनेछ। मनाङ वा मुस्ताङमध्ये कुनै एक भूगोलमा समेत बाँकी छायांकन हुने जनाइएको छ।
ओस्कार मनोनित निर्देशक एरिक भ्याली मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘चोरको स्वर’ हेर्न मंगलबार थापागाउँ पनि पुगेका थिए। जहाँ उनले पूरै समय बसेर नाटक हेरे। उक्त नाटक हेर्ने एरिक हाइप्रोफाइल दर्शक समेत बने। पूरै समय बसेर नाटक हेरेपछि उनले नाटकको प्रशंसा गरेका थिए। नाटकमा चित्रण गरिएको सांस्कृतिक पक्ष आफूलाई मन परेको भन्दै एरिकले भाषा नबुझे पनि दृश्य प्रस्तुतिले आफूलाई आकर्षित गरेको बताएका छन्।