सुर्खेत - वीरेन्द्रनगरमा चलचित्र कार्यशालाको आयोजना गरिने भएको छ। चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा आठ दिने ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला’को आयोजना गरिने भएको हो। चलचित्र कार्यशाला असार १० गतेदेखि १७ गतेसम्म चल्नेछ।
चलचित्र बोर्डको सहयोगमा गरिने कार्यशालामा फिल्म निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायांकन, अभिनय लगायतका विषयमा सिकाइने छ।
कर्णाली प्रदेशका प्रत्येक जिल्लाबाट २ जनालाई कार्यशालामा सहभागी गराइने केबी इन्टरटेन्मेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिएका छन्।
कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन, दक्ष चलचित्रकर्मी उत्पादनमा कार्यशाला महत्वपूर्ण हुने उनले बताएका छन्।
कार्यशालामा सहभागी हुनका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। कार्यशालामा शिवम् अधिकारी, दयाराम दाहाल, निर शाह लगायतका फिल्म निर्माता तथा कलाकारहरू प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।
कार्यशाला सकिएपछि सहभागीहरूलाई सर्ट मूभी वा डकुमेन्ट्री निर्माण गर्न लगाइने आयोजक संस्थाले जनाएको छ।