मणिका धाम ‘मुड्का’ मेलाको तयारी पूरा

काठमाडौँ - शुक्लाफाँटा नगरपालिका–८ मणिका धाम ‘मुडका’स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। शुक्लपक्षको नवमीका दिन राति पूजाआजासँगै दशमीका दिन मणिधाममा मेला लाग्ने गर्दछ।

मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी धनी र यात्रुले ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटेल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेला स्थलमा धुमपान मध्यपन बिक्रीवितरण र प्रयोगमासमेत रोक लगाउने मेला समितिले निर्णय गरेको छ। 

जुवा, तास, कौडा, चिठ्ठा जस्ता गतिविधि गर्न नपाइने, मेला लाग्ने स्थान वन क्षेत्रमा भएकाले वन्यजन्तुको बासस्थानमा खलल पार्ने कार्य नगर्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानेलगायतका कुराको प्रचारप्रसार गरी श्रद्धालुलाई सजग पार्ने निर्णयसमेत गरिएको छ। वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिएको छ।

मेला भर्नका लागि डडेल्धुरा कैलाली कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मणिका धाममा दर्शनका लागि पुग्ने गरेका छन्। मेलामा प्रतिवर्ष दुई लाख बढी दर्शनार्थी मणिका धाम क्षेत्रमा सिद्धनाथ वैजनाथ बाबाको दर्शनका लागि पुग्ने गर्दछन्। मेलामा गएरातिदेखि नै व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौं व्यापारी पुग्ने क्रममा जारी रहेको छ। मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गरेको छ। 

मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुड्काका नामले चिन्दछन्। धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ। थारु भाषामा ‘मुड’ भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंश भई मुडका भएको एकथरीको भनाइ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×