दलहरूद्वारा कञ्चनपुरको चुनावी गतिविधिमा वृद्धि

काठमाडौँ - आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ। 

कञ्चनपुरका सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताए।

केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्पर्क कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ। चुनावलक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ।

अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ। त्यसैगरी, नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ। ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ।

यसअघि, जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस यहाँ दुई पालिकामा मात्रै विजयी भएको थियो। माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ।माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ।

यसअघि माओवादीले यहाँका दुई पालिकामा जित निकालेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×