ग्लोबल आईएमई र बीओके बैंक आपसमा गाभिने, पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने

काठमाडौँ -   बैंक अफ काठमाण्डू बैंक (बीओके) र ग्लोबल आईएमई बैंक आपसमा गाभिने भएका छन् । बिहीबार दुवै बैंकले गाभिनका लागि समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका छन्।

दुवै बैंक समान सेयर अनुपात (१:१) मा गाभिन लागेका हुन्। मर्जर पश्चात् बैंकको कूल पुँजी रू ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ।

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ।

मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउनेछ। २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष) नै रहनेछन्।

यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको छ। समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि ४ महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको छ।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन्। ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×