धरान - धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन्। पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन्।
शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएको छ। पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ। पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ। खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिएका छन्। पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उनले जानकारी दिए। विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उनले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहेका छन्।