काठमाडौँ । सर्वोच्च अदालतमा भइ रहेका गतिरोधहरुका कारण सर्वोच्च अझै पनि सहज रुपमा चलिरहेको छैन । केही व्यक्तिहरुले सर्वोच्चलाई आफ्नो मुठ्ठीभित्र राख्ने उद्देश्यकासाथ गरिएको आन्दोलन र प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आएको नेपाल बारका कारण न्याय प्रणाली सुव्यवस्थित तवरले चल्न नसक्दा जनताहरुले भोग्नु परेको सास्ती विद्यमान नै छ ।
यसै सन्दर्भमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले निहित स्वार्थका लागि अदालतको बदनाम गर्न चाहने व्यक्तिहरु र उनीहरुका पछि लागेर हड्ताल गर्ने न्यायाधीशहरु एवं नेपाल बारलाई उनीहरुको फोटो र उनीहरुले गरेका कर्तुतहरु सहितको ब्यानर बनाइ शहरमा जुलुश परिक्रमा गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो सामाजिक संजाल फेस्बुकमा आफ्नो बिचार प्रस्तुत गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, "न्यायालय सधैँ आफ्नो मुठ्ठीभित्र रहनु पर्छ भन्ने "Towering Defacto"हरु, हड्ताली न्यायाधीशहरु, र कानुनी राजलाई जङ्गली राजमा परिणत गर्न दुश्साहस गर्ने बालका पदाधिकारीहरु, न्यायालयमा भ्रष्टाचार र बेथिति कायमै राखी आफुहरुनै सुधारक हौँ भन्ने कही जालिम मठाधीश वकिलहरु र तिन्ले लड्डु जुदाउँदा झरेको झिल्ली थापी खाने पिछलग्गुहरुको फोटो ब्यानर बनाएर शहरमा जुलुश परिक्रमा गर्ने दिन आउँदैछ, आफ्ना छद्म अनुहार जनमनबाट सार्वजनिक हुने दिन र समयका लागि धैर्यताका साथ प्रतिक्षामा रहनुहोला अनैतिकताका धरोहरहरु ... ..."