काठमाठौँ - यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ। ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो।
यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र पब्लिक च्वाईस अवार्ड समूह गरि जम्मा १५ विधाका लागि आवेदन फर्म खुल्ला गरिएको ईमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर.के. मानन्धरले जानकारी दिएका छन्।
यस पटक २०७६ साल असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिने छ। प्रत्येक विधाको उत्कृष्ट पाँँच मनोनयनका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरुबाट प्राविधिक भोट (Technical Vote) लिईने छ।
ईमेज अर्वाडमा यस वर्ष नेपहप र्याप पर्फमेन्स पनि थप गरिएको छ। यस पटक मात्र एक विधा पब्लिक च्वाईस अर्वाड (Public Choice Award) का लागि भोटिङ्ग खुला गरिएको छ। यस विधामा जसले सबैभन्दा बढि भोट प्राप्त गर्दछ, सोही गीतलाई विजेता घोषणा गरिनेछ।
२०७६ यता कोरोनाका कारण निरन्तर हुन नसकेको अवार्डलाई फेरि निरन्तरता दिइएको हो।
आवेदन फर्मको शुल्क १ सय रुपैयाँ तोकिएको छ। आवेदन फर्म ईमेज खबर डट कमबाट डाउनलोड गर्न सकिने छ। आवेदन शुल्क फर्म बुझाउँन आउँदा इमेज च्यानलको कार्यालय काठमाडौंको लाजिम्पाटस्थित ईमेज कम्प्लेक्समा स्वयं उपस्थित भई बुझाउनु पर्नेछ। आवेदन फर्म बुझाउने अन्तिम मिति २०७९ असार २० गतेसम्म तोकिएको छ।