नयाँदिल्ली । भारतमा ६ हप्ता लगाएर सात चरणमा गरिएको लोकसभा चुनाव २०२४ को मत गणना आज (मंगलबार) बाट शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५४३ लोकसभा सिटमध्ये ५४२ सिटको मत गणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेको बीबीसी हिन्दीले जनाएको छ ।
त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।