काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार टी-२० वरीयता सार्वजनिक गरेको छ। आइसिसीको ब्याटिङ वरीयतामा नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १ स्थान सुधार गरेका छन्।
नयाँ वरीयताअनुुसार दीपेन्द्र ४३औँ स्थानमा रहेका छन् २ साताअघिको वरीयतामा उनी ४४औँ स्थानमा रहेका थिए। दीपेन्द्रले ५ सय ३ रेटिङ अंक पाएका छन्। दीपेन्द्रले दक्षिण अफ्रिकाका इभिन लेविसलाई पछि पारेका छन्। लेविस ४४औँ स्थानमा रहेका छन्। दीपेन्द्रभन्दा अगाडि अफगानिस्तानका महमुदुल्लाह रहेका छन्।
ब्याटिङ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेल ४०औँ स्थानमा रहेका छन्। कुशलको वरीयतामा परिवर्तन भएको छैन। उनले ५ सय ३ रेटिङ पाएका छन्। ३९औँ स्थानमा दक्षिण अफ्रिकाका डेभिड मिलर तथा ४१औँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन्।
ब्याटिङतर्फको वरीयतामा नेपालका आसिफ सेखले एक स्थान गुमाएका छन्। नयाँ वरीयतामा उनी ९७औँ स्थानमा रहेका छन्। २ साताअघि वरीयता सुधार गरेका सेखले ३ सय ७४ रेटिङ अंक पाएका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमै छन्। उनले सर्वाधिक ८ सय १८ रेटिङ अंक बटुलेका छन्।
रोहित ८०औँ स्थानमा
एकदिवसीय वरीयतामा नेपालका मध्यक्रम ब्याट्सम्यान रोहितकुमार पौडेल ९०औँ स्थानमा रहेका छन्। उनले ४ सय ६२ रेटिङ अंक जोडेका छन्। एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ सेखले एक स्थान गुमाएका छन्। नयाँ वरीयताअनुसार उनी ९८औँ स्थानमा छन्। २ साताअघिको वरीयतामा उनको एक स्थान वरीयता सुधार भएको थियो। सेखले यसपटक ४ सय २१ रेटिङ अंक जोडेका छन्। शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम रहेकाछन्। उनले सर्वाधिक आठ सय ९२ अंक जोडेका छन्।
कप्तान सन्दीपको वरीयता यथावत्
टी-२० बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछानेको स्थान यथावत् रहेको छ। सन्दीप ४ सय ९० रेटिङ अंकका साथ ४१औँ स्थानमा रहेको आइसिसीले जनाएको छ। सन्दीपभन्दा अगाडि अस्ट्रेलियाका काने रिचर्डसन रहेका छन्। ४२औँ स्थानमा अस्ट्रेलियाका मिचेल स्टाक छन्। बलिङ वरीयतामा नेपालका अविनाश बोहरा ९२औँ स्थानमा रहेका छन्। उनले ३ सय ९३ रेटिङ अंक पाएका छन्। जिम्बावेका सिकन्दर राजाले ८ स्थान सुधार गरी ९१औँ स्थान प्राप्त गरेका छन्।
टी-२० बलिङ वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड छन्। उनले सर्वाधिक ७ सय ९२ अंक बटुलेका छन्। एकदिवसीय बलिङ वरीयतामा सन्दीप ३४औँ स्थानमा रहेका छन्। उनले ५ सय ३४ रेटिङ अंक जोडेका छन्। एकदिवसीय बलिङ वरीयतामा नेपालका २ खेलाडीले स्थान गुमाएका छन्। फास्ट बलर सोमपाल कामी र करण केसीले एक स्थान गुमाएका हुन्। आइसिसीको नयाँ वरीयतामा सोमपाल ९२औँ र करण ९४औँ स्थानमा रहेका छन्। सोमपालले ३ सय ९९ र करणले ३ सय ८७ अंक बटुलेका छन्।
यसैगरी अलराउन्डतर्फको वरीयतामा नेपालका दीपेन्द्र नवौँ स्थानमै रहेका छन्। उनले अलराउन्डरतर्फ १ सय ५२ रेटिङ अंक जोडेका छन्।अलराउन्डरतर्फ शीर्षदेखि १२औँ स्थानसम्मका ब्याट्सम्यानका वरीयता परिवर्तन भएका छैनन्। शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी रहेका छन्। उनले सर्वाधिक २ सय ६७ अंक जोडेका छन्। दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन छन्। उनले २ सय ३२ रेटिङ अंक बटुलेका छन्।