‘कबड्डी-४’ले महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत, ‘केजीएफ-२’भन्दा धेरै शो

काठमाडौँ - ‘कबड्डी’ फिल्मको चौंथो श्रृंखलाले नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत दिएको छ।

सिनेमा हलमा प्राप्त शो र अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा दयाहाङ राई स्टारर फिल्मको पहिलो सप्ताहन्त ओपनिङ अनुमानित चार करोड रुपैयाँ हुने प्रक्षेपण छ। आइतबारसम्मै सप्ताहन्त भएकाले कमाइ आक्रामक हुने अपेक्षा गरिएको छ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले सोमबार बेलुकादेखि अग्रिम टिकट बिक्री खुला गर्दै रामबाबु गुरुङ निर्देशित फिल्मलाई ८७ शो दिएको छ। प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो अहिलेसम्मकै उच्च शो हो। दक्षिण भारतीय फिल्म ‘केजीएफ-२’ले ८० शो पाएको थियो।

क्यूएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका प्रकाशित गरेको छ, जसमध्ये मंगलबार बिहान १० बजेसम्म ८० प्रतिशत अकुपेन्सी देखिएको छ।

क्यूएफएक्स बक्स अफिस विभाग प्रमुख मीना कार्कीले ट्रेण्ड हेर्दा मंगलबार बेलुकासम्म शुक्रबारका सबै शोको टिकट अग्रिम बिक्री हुनसक्ने बताइन्। ‘अहिलेलाई टिकट बिक्री मात्र गरेका छौं। आइतबारदेखि कस्तो ट्रेण्ड लिन्छ, सोहीअनुसार बुकिङतिर पनि जान सकिन्छ,’ उनले भनिन्।

कमलपोखरीस्थित बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले नेपाली फिल्मले पहिलोपटक आफ्नो हलमा यस्तो अग्रिम टिकट बिक्री गरेको देखेको बताए। ‘मंगलबारदेखि नै सुरु भएको यो ट्रेण्ड हेर्दा चलेका विदेशी फिल्मभन्दा माथि नै जान सक्छ,’ शर्माले भने, ‘पछिल्लो समय बुकिङभन्दा अग्रिम टिकट बिक्रीको ट्रेण्ड नै देखिएको छ।’

बिग मुभिजले अग्रिम बुकिङ र अग्रिम टिकट बिक्री गरिरहेको छ। तर बुकिङभन्दा बिक्रीकै चाप उच्च रहेको व्यवस्थापक शर्माले बताएका छन्। मुलुकका डेढ सय हलबाट रिलिजको तयारीमा रहेको ‘कबड्डी ४’ले अघिल्ला तीन श्रृंखलाभन्दा उच्च ओपनिङ गर्ने आशा निर्माता मणिराम पोखरेलले व्यक्त गरेका छन्। काठमाडौं उपत्यकाबाटै डेढ करोड रुपैयाँको ओपनिङ हुनसक्ने उनको अपेक्षा रहेको छ।

नेपाल रिलिजको एक सातापछि यो फिल्म भारतका नेपालीभाषी बहुल क्षेत्रका हलमा प्रदर्शन गर्ने तयारी रहेको छ। भारत र नेपालबाहेकका विदेशी मुलुकबाट ‘कबड्डी ४’ले २ करोड रुपैयाँ नेट कलेक्सन गरिसकेको छ। डिजिटल राइटबाट झण्डै एक करोड आर्जन गरेको छ। डिजिटल र ओभरसिज राइटबाटै फिल्मले आफ्नो लगानी उठाइसकेको छ।

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्मको नाम ‘कबड्डी : द फाइनल म्याच’ राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×